बझाङ : बझाङमा स्थानीय सरकारले खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा जिल्लाको केदार स्युँ गाउँपालिकाका सर्वसाधारण चरम समस्यामा परेका छन् । झण्डै २४ वर्ष अगाडि निर्माण भएको खानेपानीको मर्मत सम्भार नहुँदा पालिकाको वडा नम्बर(६, त्याडीगाउँका स्थानीय बासिन्दाहरुले सास्ती झेल्नुपरेको हो । पानी वितरण प्रणालीको व्यवस्थापन र स्रोत नहुँदा त्याडीगाउँमा हाहाकार मच्चिएको हो ।
अहिले, गाउँभन्दा झण्डै १ किलोमिटर टाढा रहेको कुवा र खोलाको पानी पिउनुपर्ने बाध्यता स्थानीय बासिन्दाको रहेको छ । उनीहरुले आकाशबाट झरेको पानी ड्रममा जम्मा गरी प्रयोग गर्दै आएका छन् । स–साना बालबालिका र महिलाहरुले बोकेकै भरमा ठूलठूला ड्रम भरेर आफ्नो दैनिकी चलाउँदै आएका छन् । वडाले पाइप खरिद गरेर वितरण गरेको भए पनि अधिकांश व्यक्तिहरुले घरमा नै पाइप राखेका छन् । समस्या समाधानका लागि भन्दा पनि व्यक्तिहरुलाई पाइप खरिद गरी वितरण गरेकै कारण खानेपानीको समस्या यथावत रहेको बोहोराको भनाइ छ ।
वडाले दलित समुदायका लागि भन्दै ८ लाख रुपैयाँ बराबरको पाइप वितरण गरेको थियो । तर, अहिले दलित समुदाय नै सबैभन्दा बढि खानेपानीको समस्यामा परेका छन् । यस्तै, गैरदलित समुदायका व्यक्तिहरुले करिब ६ लाख रुपैयाँ बराबरको पाइप पाएका छन् । यसरी उपलब्ध भएको पाइपहरु खानेपानीका लागि प्रयोग नगरी अधिकांशले घरमा नै थन्काएर राखेको स्थानीय बासिन्दाले बताएका छन् ।
यता, केदार स्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले भन्नुभयो, खानेपानीको समस्या समाधानका लागि आफू तत्काल लागिपर्ने बताए। गाउँपालिका एक घर, एक धाराको अवधारणा सहित अघि बढेको बताउँदै उहाँले घरैपिच्छे उपलब्ध गराउन नसके पनि एउटा टोलका लागि एक धारा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।