नेप्सेमा नयाँ रेकर्ड, परिसूचक १९०० विन्दूभन्दा माथि

नेप्सेमा नयाँ रेकर्ड, परिसूचक १९०० विन्दूभन्दा माथि

काठमाडौं । नेप्से परिसूचक १९०० विन्दूभन्दा माथि पुगेको छ। आज बजार खुलेको २ मिनेटमै नेप्सेले सो विन्दू पार गरेको हो। आज  नेप्से हालसम्मको उच्च रेकर्ड ब्रेक गरेको नेप्सेले बजार खुलेको २ मिनेटमा नै ३० दशमलव ७५ अंक बढेर १९०५ दशमलव ५६ विन्दुमा पुगेको हो।

सो अवधिसम्ममा ९५ कम्पनीको ६१० पटकको कारोबार ५ करोड ३२ लाख ७७ हजार रुपैयाँ बराबरको ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएको छ। 

आइतबार र सोमबार मात्रै झण्डै रु १२ अर्ब बराबरको कारोवार भएको बजारमा आज पनि कारोवार रकम रु पाँच अर्ब ४४ करोड बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा दाहोरो अङ्कको वृद्धि भयो।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लाग्दा अन्य ११ उपसमूहको शेयर भने उकालो लागेको छ। होटल ३४ दशमलव ९२ विन्दुले ओरालो लागेको छ।

यस्तै बैंकिङ १ दशमलव ४४, व्यापार १७२ दशमलव ६३, विकास बैंक १२ दशमलव ८६, जलविद्युत् २१ दशमलव ३२, वित्त ६ दशमलव २३, निर्जीबन बीमा ३२७ दशमल ५१, उत्पादन २२७ दशमलव १२, अन्य ६१ दशमलव ५१, लघुवित्त २५ दशमलव ५९, जीवन बीमा २४८ दशमलव ५२ र सामूहिक लगानी कोष ०  दशमलव १ विन्दुले उकालो लागेका छन्।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु ३७ करोड ३३ लाख ८६ हजार ५०५ बराबरको कारोवार भयो। यस्तै नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड ५१ लख १७ हजार १८८, नेपाल पुनर्बीमा कम्पनी रु २५ करोड ८२ लाख तीन हजार ५७९, हिमालयन डिस्टिलरी रु २० करोड ९४ लाख ७८ हजार २५७, नेको इन्स्योरेन्स रु २० करोड १४ लाख ७३ हजार ५८६, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ९९ लाख २४ हजार ९८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ३३ लाख १४ हजार २६८, नेपाल बैंक लिमिटेड रु १७ करोड ६९ लाख ७० हजार २८३ र शिवम् सिमेन्ट रु १५ करोड २३ लाख दुई हजार ५४२ बराबरको कारोवार भई शीर्ष स्थानमा छन्।

कारोबार भएका कम्पनीमध्ये १२४ को शेयर उकालो लागेको छ भने ३५ कम्पनीको शेयर ओरालो लाग्दा १३ को भने कुनै परिवर्तन भएन।