अत्याधिक चिसो बढेपछि उदयपुरमा दाउरा वितरण

अत्याधिक चिसो बढेपछि उदयपुरमा दाउरा वितरण

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानमा डिभिजन वन कार्यालय तथा स्थानीय सङ्घसंस्थाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेका छन् । केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछिस्थानीयवासीलाई दाउरा वितरण कार्य शुरु गरीएको हो ।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि डिभिजन वन कार्यालयले गाईघाटको बोक्से चौक, गाईघाट बजार, पुरानो गाईघाट, देउरीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको हो। बिहीबार र शुक्रबार गरेर झण्डै यी क्षेत्रमा दश क्विन्टल दाउरा विभिन्न चौकमा बालेर ताप्नका लागि वितरण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले जानकारी दिए ।

यस्तै, नगरका गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । चिसोबाट बच्न ज्येष्ठ नागरिकका लागि गाईघाट त्रियुगा शान्तिधाम समितिले समेत पाँच क्विन्टलभन्दा बढी दाउरा किनेर गाईघाट मोतिगडा क्षेत्रमा वितरण गरिएको शान्तिधाम समितिका अध्यक्ष गिरीराज खतिवडाले बताए ।

घरमा आर्थिक कमजोरका कारण ओढ्ने ओछ्याउने कमजोर हुने यस क्षेत्रका मुसहर समुदायका परिवारहरु रातभरि नै आगो बालेर आगोको सहाराले रात कटाउन थालेका जोगिदह मुसरटोलका सबुर सदाले बताए । निरन्तर शीतलहरका कारण चिसो बढेपछि उदयपुर लगायत तराई क्षेत्रका धेरै विद्यालयका विद्यार्थीसमेत विद्यालय उपस्थित हुन छाडेका सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।