आन्दोलनको नाइके महिला कैदीबन्दीको सरुवा

आन्दोलनको नाइके महिला कैदीबन्दीको सरुवा

बाँके : नेपालजञ्जमा रहेको जिल्ला कारागार, बाँकेमा रहेका दुई महिला कैदीलाई अन्यत्र सरुवा गरेको छ। कारागारका चौकीदारले गुणस्तरहीन खाना खुवाएको लगायत आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि आन्दोलनका मुख्य नाइके भनिएका भगवती राना र प्रेमा चन्दलाई अन्यत्र सरुवा गरिएको हो। रानालाई नवलपरासी र चन्दलाई पाल्पामा शुक्रबार बेलुका सरुवा गरिएको निमित्त जेलर दीपेन्द्र पौडेलले जानकारी दिए।

शुक्रबार बिहानैदेखि आन्दोलित कारागारका महिला कैदीले चौकीदार फेरबदल गर्नुपर्ने लगायतका माग गरेका थिए। दिनभर तनावग्रस्त रहेको कारागारमा शुक्रबार बेलुका कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको पौडेलले बताए।

यसैवीच, कारागार प्रशासनले कैदीबन्दीले उठाएको मागलाई सम्बोधन गर्न रेग्मीमाथि छानविन सुरु गरेको बताएको छ। महिला कैदीले चौकीदार रेग्मीले आफूहरुमाथि रुखो व्यवहार गरेको, गुणस्तरहीन खाना खुवाएको लगायतका आरोप लगाएका छन्। गत कात्तिक १४ मा पुरुष कैदीबन्दीले आन्दोलन गरेपछि जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरा लगायतको सरुवा भएको थियो। त्यसयता कारागार प्रमुखविहीन रहेको छ।