हरिबोधनी एकादशी आज कि भोलि ?

हरिबोधनी एकादशी आज कि भोलि ?

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले जानकारी दिए ।

वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनु अघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताए। समितिले स्वीकृति दिएकामा पात्रोमा पनि यही उल्लेख गरिएको छ ।

हरिबोधनी एकादशीको महत्व
कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णु यसै दिन जागा हुनुहुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् ।

तुलसीका फाइदाहरु
– वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ ।
– जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
– अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्रोंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ ।
– यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ ।
– तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
– तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ ।
– नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
– पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
– तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ ।