हेलिकोप्टर कम्पनीको मनोमानी, नदेखे झैं गर्छ प्रशासन

हेलिकोप्टर कम्पनीको मनोमानी, नदेखे झैं गर्छ प्रशासन

सोलुखुम्बु : खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेको पाइएको छ। कैलाश र सिम्रिक एयरको हेलिकोप्टरले खुम्बुको विभिन्न क्षेत्रमा दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानी गरिरहेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय सुरक्षा निकायसँगको समन्वयमा मात्रै उडान भर्ने गरी अनुमति दिए पनि हेलिकोप्टर कम्पनीले आफु खुसी उडान भर्ने गरेको पाइएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण काठमाडौंले सिम्रिक एयर प्रालिलाई २०७६ मंसिर १६ मा लेखेको चलानी नम्बर १०७८ को पत्र र २०७६ मंसिर २० मा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिलाई लेखेको चलानी नम्बर ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ। हेलिकोप्टर कम्पनीले सदरमुकाम सल्लेरीबाट करिब २ घण्टाको पैदल यात्रामा पुग्न सकिने सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुबाट सामान ढुवानी गरिरहेका छन्।

दिनहुँ सामग्री ढुवानी गरिरहेको ती हेलिकोप्टरबारे जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल त्यस विषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनोमानी उडान भर्दा प्रतिबन्धित सामग्रीहरु ओसारपसार हुन सक्ने सम्भावना बढी रहेको बताए।

विगतमा पनि यसैगरी समान ढुवानी हुने गरेको स्थानीयहरु बताउँछन् । यसमा स्थानीयदेखि उच्च तहका व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने उनीहरुको आशंका छ। केही वर्षदेखि काठमाडौंबाट टाक्सिन्दुसम्म सिधा सडक सञ्चालन भएकाले त्यहाँसम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकोप्टर मार्फत माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ ।

नेपाल नागरिक उड्डयन कार्यालय फाप्लु सोलुखुम्बुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानीबारे आफुसँग कुनै समन्वय नगरेको दाबी गरे। कम्पनीले माथिको निर्णय भन्दै आफु खुशी उडान भर्ने गरेको उनको भनाइ छ। स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरबाही भएको भन्दै उनले यसबारेमा केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कमजोरी पाइए कारबाही गर्ने बताएका छन्।

जथाभाबी चेकजाँच नगरी सामान ढुवानी गर्दा गत भदौ १९ बिहीबार अपराह्न कैलाश एयरको उडिरहेको हेलिकोप्टरबाट सिरक लगायतको सामग्री खसेको थियो। फाप्लु विमानस्थलबाट उडेको उक्त हेलिकोप्टरले केही मिनेटमै सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा उक्त सामाग्री खसालेको भन्दै स्थानीयले प्रशासनको ध्यानकर्षण समेत गराएका थिए।