ठाउँ तोक्न नसक्दा खुलामञ्चमै खुवाइयो खाना

ठाउँ तोक्न नसक्दा खुलामञ्चमै खुवाइयो खाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ । महानगरले ठाउँ तोक्न नसकेपछि खुलामञ्चमै खाना खुवाइएको हाम्रो टिम नेपालले जनाएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा भेला नगराइ कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन विभिन्न सङ्घ संस्थालाई आग्रह गरेको थियो । त्यही सम्झौताअनुसार मङ्गलबारदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भए पनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए । 

खाना खान आउने मानिसहरुले भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘कि काम देऊ होइन भने खान देऊ’ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आएर निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको उनीहरुले बताएका छन् । सडकमा बसेर खाना खान आफूहरुको रहर नभइ बाध्यता भएको पनि उनीहरुले बताए । 

काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउँदा सङ्क्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ ।