कोरोना जोखिम भत्ता नपाएपछि डाक्टरहरुको सामुहिक राजीनामा

कोरोना जोखिम भत्ता नपाएपछि डाक्टरहरुको सामुहिक राजीनामा

काठमाडौं । कोरोना जोखिम भत्ता नपाएपछि बुटवलस्थित सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले सामुहिक राजीनामा दिएका छन् । तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै करारमा कार्यरत सातैजना डाक्टरले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको छ ।

डाक्टरहरुले राजीनामा दिएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको बुझिएको छ । मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि उनीहरु काममा फर्केका छैनन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले तिहारलगत्तै जोखिम भत्ता दिने अस्पतालले प्रतिबद्धता जनाएपनि मेडिकल अधिकृत काममा नफर्किँदा आईसीयूलगायतको उपचार सेवा प्रभावित भएको बताए ।काम छोडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन् ।