आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लामा बुधबार थप १२ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा नौ सय ७६ जना, ललितपुर जिल्लामा दुई सय चारजना र भक्तपुर जिल्लामा ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १६६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६२ हजार २४३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।