कोरोना महामारीले रोकिएका देशमा हवाई उडान सुचारु गर्ने सीसीएमसीको निर्णय

कोरोना महामारीले रोकिएका देशमा हवाई उडान सुचारु गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोरोना महामारीका कारण बन्द गरिएका दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुचारु हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले हाल खुल्ला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसिया लगाएत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सूचारु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तहमा होम आइसोलेशनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिनका लागि स्थानीय तहका वडाबाट स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयबाट अनुरोध गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

त्यस्तै बैठकले बिदेशी कुटनीतिकका कर्मचारीहरु नेपाल आउनलाई अनुमति भएकामा परिवार समेत आउन पाउन पाउने गरि छुट दिन मन्त्रिपरिषद्मा प्रस्ताव गरिने गुरागाईले बताए । त्यस्तै विदेशमा रहेका नेपालीहरुको शव व्यवस्थापन गर्न बाकी रहेकाले शव नेपाल ल्याउनका लागि व्यवस्थापन गर्न श्रममन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको उनले जानकारी दिए ।

गुरागाईले हालसम्म १ लाख ३६ हजार २१६ नेपालीको उद्दार भइसकेको र कुटनीतिक नियोगबाट उद्दारका काम सकिएको जानकारी आएकाले कोहि नेपालीको उद्दार गर्नुपर्ने भए नियमित उडानबाटै समायोजन गरेर उद्दार गर्ने तथा उद्दारका लागि अव थप उडान नगर्ने निर्णय गरिएको बताए।

समितिको बैठकले हाल अन्तराष्ट्रिय सतह मार्गका १३ स्थानबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएकोमा बैतडीको झुलाघाटबाट पनि प्रवेश दिने निर्णय गरेको छ । त्यस्तै पर्यटन गतिविधिहरुलाई केहि खुल्ला गर्नका लागि केवलकार, जंगलसफारी लगायतका क्षेत्रलाई खुल्ला गर्न दिने निर्णय पनि बैठक गरेको छ । बैठकमा नेपालमा हाल कोरोना संक्रमणको अवस्थाका बारेमा पनि समिक्षा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गुरागाईंले जानकारी दिए ।