कोरोना सङ्क्रमणले भट्टराई परिवारका दुई छोरालाई परिवारबाट चुँडेर लग्यो

कोरोना सङ्क्रमणले भट्टराई परिवारका दुई छोरालाई परिवारबाट चुँडेर लग्यो

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण एकै परिवारका सदस्यहरूको मृत्यु हुने क्रम बढिरहँदा सोही पीडामा झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मा रहेको भट्टराई परिवार पनि परेको छ। भट्टराई परिवारमा यति ठूलो वज्रपात पर्ला भन्ने कसैको कल्पनामा थिएन। तर विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणले भट्टराई परिवारका दुई छोरालाई परिवारबाट चुँडेर लग्यो।

अहिले उक्त परिवार शोकाकुल छ। केही दिन अघि झापाको शिवसताक्षी नगरपालिका वडा नं २ का ३७ वर्षीय दयाराम भट्टराईलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो। सङ्क्रमित भट्टराईको गत कात्तिक १४ गते विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भयो।

त्यसको ठिक चार महिनाअघि कोभिड १९ कै कारण सोही घरका कान्छा छोरा योगेश्वरको कतारमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। साउदी अरबमा रहेका विष्णुप्रसादका भाइ योगेश्वर बुवाको काजकिरिया गर्न गत साल नेपाल आएका थिए।

काजकिरिया सकेर उनी अर्को रोजगारीको गन्तव्य मुलुक कतार फर्के। तर बुवाको वार्षिकीको अघिल्लो दिन योगेश्वरको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको खबर परिवारले सुन्नु पर्‍यो। योगेश्वरका दाजु विष्णुप्रसाद भन्छन्, 'बुवा बितेको वर्ष दिन पुग्ने अघिल्लो दिन भाइ नरहेको खबर सुनेपछि वज्रपात भयो।' तीस वर्षीय योगेश्वर कतारको एउटा होटलमा नगद सङ्कलनमा काम गर्थे।

कामकै सिलसिलामा उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको परिवारका सदस्यले आशङ्का गरेका छन्। मृत्यु हुनुभन्दा एक साताअघि परिवारसँग कुरा गर्दा ज्वरो आउने र टाउको दुख्ने समस्या योगेश्वरले सुनाउने गरेको विष्णुप्रसादले बताए। उनले भने, 'भाइ सन्चो भएको खबर आउला भन्दाभन्दै मृत्युको खबर आयो।'


बुवा र कान्छो भाइको मृत्युको शोकबाट गुज्रिँदै गर्दा भट्टराई परिवारले पुनः अर्को वज्र खस्यो। परिवारका जेठा छोरा ३७ वर्षीय दयारामको गत कात्तिक १४ गते कोरोना भाइरसको सङ्क्रमणकै कारण मृत्यु भयो। दयारामलाई पहिला पाचन प्रणालीमा समस्या आएको विष्णुप्रसादले बताए।


ज्वरो पनि आएकाले दमक अस्पताल लगेर जचाउँदा कोरोनाभाइरसको सङ्क्रमण छ वा छैन भनेर हेर्नुपर्छ भनेपछि दमक नगरपालिकाकै एउटा वडा कार्यालयमा गएर स्वाब दिए। दुई दिनमा रिपोर्ट आउँदा सङ्क्रमण पुष्टि भएपछि दयाराम केही दिन घरमै आइसोलेशनमा बसे।

तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विराटनगरको नोबेल मेडिकल कलेजको अस्पताल लगेर उपचार गर्दा दयारामको त्यहीँ मृत्यु भएको विष्णुप्रसादले बताए। उनले भने, 'धेरै मान्छेले पहिला अस्पताल नलैजानु घरमै राख्नु भनेर सल्लाह दिए। त्यसै गर्‍यौँ। न सही गर्‍यौँ न गलत केही भन्न सकिएको छैन।'