कर्णालीमा बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले भत्ता दिने

कर्णालीमा बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले  भत्ता दिने

हुम्ला : हुम्लासहित कर्णालीका दशवटै जिल्लामा बालविवाह न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले मासिक रु ५ सय रुपैया प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो रीतिरिवाजलाई बचाउन र संस्कार छोड्न नसक्दा कर्णाली जिल्लाको समुदायमा बढी बालविवाह हुने गरेकोले बालविवाह न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले मासिक रुपमा भत्ता दिने निर्णय गरेको हो ।

हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा लामा समुदायको बसोबास रहेको छ ।

सोही समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा बढी चासो दिने भएकाले वीचमा नै पढाइ छाड्ने क्रम बढेको हो । पाँचदेखि सात, आठ कक्षासम्म पढाइ गर्ने त्यसपछि सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी रहेको छ । बालविवाह अन्त्यका लागि छोरीलाई मासिक भत्ता दिने कार्य प्रभावकारी हुने सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बताएका छन् । रासस