सरकारको समीक्षा गर्न संसद अधिवेशन बोलाउँ : डा. भट्टराई

सरकारको समीक्षा गर्न संसद अधिवेशन बोलाउँ : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको समीक्षा गर्न संसद अधिवेशन बोलाउनुपर्ने बताएका छन्। भट्टराईले शनिबार ट्वीट गर्दै सरकारले पछिल्ला समयमा खेल्नुपर्ने महत्वपूर्ण जिम्मेवारीप्रति आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको रहेकाले छलफल गर्न संसद अधिवेशन आवश्यक भएको बताएका हुन्‌। 

पछिल्लो समय सत्ताधारी दल नेकपाभित्र देखिएको किचलो आन्तरिक मामिला भएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको दुष्कर्म/अकर्मको विषयमा तत्काल छलफल गर्नुपर्ने लेखेका छन्‌।  उनले संसद अधिवेशन बोलाए कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा छलफल गर्नेपर्ने प्रष्ट्याएका छन्। 

'नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला, उसैले छिनोफानो गरोस्, तर प्रधानमन्त्री केपी शर्मा ओली सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले  बोलाएर छलफल गर्ने कि !' उनले लेखेका छन्, 'कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा छलफल गर्नुपर्छ।'