मध्यरातमा होटलबाट तीन युवतीसहित सात जना पक्राउ

मध्यरातमा होटलबाट तीन युवतीसहित सात जना पक्राउ

डडेल्धुरा । कैलाली प्रहरीले धनगढीको एक होटलबाट तीन युवती सहित सात जनालाई पक्राउ गरेको छ । गएराती करिब एक बजे बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैलासहितका सात जनालाई पक्राउ गरेको हो ।

तीन जना युवतीलाई धनगढीको एउटा होटेलमा राखिएको र उनीहरूलाई त्रिनगर नाका भएर बेचबिखनका लागि भारत लगिँदै छ भन्ने सूचनाका आधारमा होटलमा छापा हान्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार बेच्न लगिएका भनिएका १७ वर्षका दुई र १९ वर्षका एक युवती छन् । उनीहरूमध्ये दुई जना सर्लाही र एक जना सिन्धुलीका हुन् । होटल सञ्चालक बडैलासहितका ४ जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।