नेवाः पहिचान, नेवाः राजनीति अभियान सुरु, अभियन्ता भन्छन्, ‘४६ सालपछि नेवार समुदाय मुलधारको राजनीतिबाट टाढा भए’

नेवाः पहिचान, नेवाः राजनीति अभियान सुरु, अभियन्ता भन्छन्, ‘४६ सालपछि नेवार समुदाय मुलधारको राजनीतिबाट टाढा भए’

युरोप । पछिल्ला दशकयता मुलधारको राजनीतिमा नेवार समुदायको स्थान नगन्य रहेको भन्दै अभियन्ताहरु चिन्तित बन्न थालेका छन् । उनिहरुले ०४६ साल अघिका विभिन्न कालखण्डमा नेवार समुदायका नेताहरुले राजनीति स्थान पाएपनि पछिल्ला दशकमा स्थान नपाएको गुनासो गरेका हुन् । 

नेवार समुदायको पहिचान र राजनीतिलाई थप उजागर गर्ने गरी अभियान सुरु गरिएको छ । अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत नेवार समुदायबाट राजनैतिक मैदानमा पुगेका सत्तारुढ दल नेकपा, प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग अन्तरक्रिया गरेको अभियन्ता गंगा बहादुर नेमकुलले जानकारी दिए । उनका अनुसार नेकपाकी नेत्री अष्टलक्ष्मी शाक्य, कांग्रेस नेता भिमसेनदास प्रधान र जनता समाजवादी पार्टीका राजेन्द्र प्रसाद श्रेष्ठसँग राजनैतिक चुनौती, आगामी कार्यदिशा लगायतका विषयमा कुराकानी भएको थियो । 

नेवाः पहिचान, नेवाः राजनीति अभियान पोर्चुगलको आयोजनामा भएको कार्यक्रम १७ अक्टोबर शनिबारका दिनदेखि सुरु भएको हो । कार्यक्रम राष्ट्रिय नेवाः खल इजरायलको समन्वयमा भएको हो । नेवार समुदायका नेताहरु सम्मिलित उक्त कार्यक्रमलाई नमस्ते नेपाल हातेमालो सामाजिक संजाल समन्वय समिति इजरायलबाट संचालित रेडियो कार्यक्रम रेडियो नमस्ते नेपालबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 

प्राचिन नेपालका शासकको रुपमा कहलिएका महिषपाल, गोपाल, किराँत, लिच्छवी र मल्ल समुदायको अवशेषहरु हालसम्म पनि नेवार समुदायमा यत्रतत्र छरीएर रहेको अभियन्ता नेमकुलको भनाई छ । उनले गोपालवंशी शासकहरुको विस्तृत विवरण नभेटाइए तापनि तिनीहरु नेवार समाजकै एक अभिन्न अंग हुन भन्ने कुरा निर्विवाद रहेको बताउँछन् । उनले ०४६ साल अघि नेवार समुदायको राजनीतिमा रहेको बर्चस्व आगामी दिनमा पनि निरन्तर हुनुपर्ने बताए । 

अहिले अभियानमा विभिन्न ११ वटा देशका नेवार समुदायका प्रतिनिधीहरुले साथ दिएको उनले जानकारी दिए । आगामी दिनमा नेवार समुदायका अन्य युवा नेताहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा राष्ट्रिय नेवाः खल इजरायलका नरेश नेवाः श्रेष्ठ, अध्यक्ष बिमला श्रेष्ठ, कार्यक्रम संचालकद्वय मनु श्रेष्ठ र राजकुमारी श्रेष्ठ, प्रविधीमा सहयोग गर्ने विष्णु सिन्खदा र  नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलले सहयोग गरेका थिए ।