राष्ट्रिय जनावार गाई चिसोको कारणले मरन थाले

राष्ट्रिय जनावार गाई चिसोको कारणले मरन थाले

तनहुँ : केही दिनदेखि बढेको अत्यधिक चिसोले तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा निर्माण गरिएको गौ संरक्षण केन्द्रका गाई मरेका छन् । छाडा चौपाया व्यवस्थापन गर्न नगरपालिकाले निर्माण गरेको केन्द्रमा चिसोका कारण गाई मरेका हुन् ।

संरक्षण केन्द्रमा रहेका कमजोर स्वास्थ्य अवस्था भएका चार÷पाँच वटा गाईहरु चिसोका कारण मरेको वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार गाईलाई चिसोबाट बचाउन केन्द्रमा ट्रस हालिएको छ । साथै नगरपालिकाका पशुस्वास्थ्य शाखाको समन्वयमा समय–समयमा गाईको स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

संरक्षण केन्द्रमा सोलार जडान गरिएपछि पछिल्लो समय चितुवाको आक्रमणबाट गाई मर्ने क्रम कम भएको छ । यसअगाडि संरक्षण केन्द्रमा सोलार नहुँदा चितुवाले आक्रमण गरेर गाईको मृत्यु हुने गरेको थियो । “हाल संरक्षण केन्द्रमा तारबार पनि गरिएको छ, त्यसले गर्दा चितुवा भित्रै आएर गाईलाई आक्रमण गर्न सक्दैन”, श्रेष्ठले भन्नुभयो, “तारबार भन्दा बाहिर गएको अवस्थामा भने अहिले पनि केही गाईहरु मर्ने गरेका छन् ।”

संरक्षण केन्द्रमा हाल १५० भन्दा बढी गाई छन् । नगरपालिकाले गत वर्ष संरक्षण केन्द्र निर्माणका लागि रु १७ लाख लगानी गरेको थियो भने चालू आवका लागि रु २० लाख विनियोजन गरेको छ । संरक्षण केन्द्रमा दुई जना हेरालु राखिएको संरक्षण केन्द्रका संयोजक एवं नगर कार्यपालिकाका सदस्य गीता महतले जानकारी दिनुभयो । महतका अनुसार संरक्षण केन्द्रलाई व्यवस्थित बनाउन पहल भइरहेको छ । विभिन्न दाताहरुले गाईलाई खुवाउनका लागि पराल सहयोग गर्दै आइरहेका छन् ।

छाडारूपमा छाडिएका गाईहरुको स्वास्थ्यमा अत्यधिक समस्या देखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “मरेको एउटा गाईको पेटबाट एक किलोसम्म प्लाष्टिक निस्कियो,” श्रेष्ठले भन्नुभयो, “नगरमा जथाभावी हिँड्दा गाईहरुले प्लाष्टिक पनि खाने गरेका रहेछन् ।”