पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचारको व्यवस्था गर्न माग

पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचारको व्यवस्था गर्न माग

काठमाडाैं । नेपाल पत्रकार महासंघले कोरोना महामारीबीच अग्रपंक्तिमा रहेर सूचना प्रवाहमा काम गरिरहेका पत्रकारको पिसिआर परीक्षण र कोरोना संक्रमित पत्रकारको उपचार निःशुल्क व्यवस्था गर्न माग गरेको छ ।  महासंघले विज्ञप्ति निकालेर कठिन समयमा पेसाप्रति निष्ठावान भई कार्यरत पत्रकारको पिसिआर र संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । 

महासंघले पछिल्लो समय चार सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको र चारजना पत्रकारको संक्रमणकै कारण निधन भएको जनाएको छ ।  यस्तो विषम परिस्थितिमा खटिएका पत्रकारको उपचारको व्यवस्था गर्नुपर्ने माग महासंघले विज्ञप्तिमार्फत गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यो विषम परिस्थितिमा मन्त्री, सांसद तथा उच्चपदस्थ सरकारी कर्मचारीलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचारका भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मी र आमनागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछौँ ।’