कुमार विकको खुट्टा दुई टुक्रा बनाएको आरोपमा २७ जना पक्राउ

कुमार विकको खुट्टा दुई टुक्रा बनाएको आरोपमा २७ जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको आरोपमा २७ जना पक्राउ परेका छन् । घटना लगत्तै ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले मंगलबार राति अनुसन्धानका लागि थप २२ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

‘घटना के भएर भएको हो यसको निचोडमा अझै पुग्न सकिएको छैन। शंका लागेका सबैलाई पक्राउ गरेका छौँ’, डिएसपी सिंहले भने,‘घटनास्थल सुनसान सडक किनाराको खेत हो । घटनाको बारेमा अनुसन्धान गरेर यथार्थ सार्वजनिक गर्छौँ।’

खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो ।

उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्त स्थलमा अपरिचित समूहले साङ्घातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।