विराटनगरमा एकैदिन सात कोरोना संक्रमितको निधन

विराटनगरमा एकैदिन सात कोरोना संक्रमितको निधन

विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा उपचाररत सात जना कोरोना संक्रमितको सोमवार साँझदेखि मंगलबार बिहानसम्ममा निधन भएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३ जना र निजी अस्पतालहरु विराट, न्युरो, र  विराट र नोबेल टिचिङ अस्पतालमा एक–एक जना संक्रमितको निधन भएको हो ।

विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत मोरङ कटहरी गाउँपालिका– २ की २१ वर्र्षीया महिला, विराटनगर महानगरपालिका– १२ की ६४ वर्षीया वृद्धा र सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का ३८ वर्षीय पुरुषको निधन भएको छ  ।

यसैगरी विराट अस्पतालमा उपचाररत मोरङको रंगेली नगरपालिका– ३ का ८५ वर्षीय वृद्ध न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका– १० की ६४ वर्षीया वृद्धा र नोबेल मेडिकल तथा टिचिङ अस्पतालमा उपचारत विराटनगर महानगरपालिका– ७ की ६९ वर्र्षीया वृद्धा र मोरङ बुढीगंगा गाउँपलिका २ टंकिसिनवारीस्थित विराट मेडिकल तथा टिचिङ अस्पतालको आइसोलेसनमा उपचारत  झापा बिर्तामोड नगरपालिका– ४ की ७६ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो ।

उपचाररत सबै संक्रमितहरुको सोमबार साँझदेखि मंगलबार विहानसम्म निधन भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । समाजिक विकास मन्त्रालयका अनुसार सोमवार अपरान्हसम्म प्रदेश १ मा जम्मा १ सय ३६ जना संक्रमितको निधन भएको थियो । सोमवार साँझदेखि मंगलबार विहानसम्म निधन हुने ७ जना मृतकसहित अब जम्मा संख्या १ सय ४३ जना पुगेको छ ।