दशैं मान्न घर फर्किंदै गरेका पाँच यात्रुले दुर्घटनामा ज्यान गुमाए

दशैं मान्न घर फर्किंदै गरेका पाँच यात्रुले दुर्घटनामा ज्यान गुमाए

काठमाडौं । उदयपुरको कटारीमा गए राति जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। शनिबार राति करिब १ बजे कटारी नगरपालिका १४ भदौरेमा बा २० च ७१७१ नम्बरको जीप सडकबाट तल खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

ज्यान गुमाउनेमा चार पुरुष र एक महिला छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षी रामबहादुर सार्की र २६ वर्षी कर्मे सार्कीको मात्रै पहिचान भएको छ।

दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। भैरहवाबाट ओखलढुंगा जाँदै गरेको जीप अप्ठ्यारो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घाइते तीन जनाको कटारीमा उपचार भइरहेको छ।