'एसिड आक्रमणपछि अब बलात्कारविरुद्ध कठोर कानून'

'एसिड आक्रमणपछि अब बलात्कारविरुद्ध कठोर कानून'

काठमाडौं । बलात्कारविरुद्ध कठोर कानुनी प्रावधान ल्याउनेबारे छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले बलात्कारलाई निन्दनीय र मानवताविरोधी अपराध भन्दै यस्ता घटना मिलापत्रका नाममा ढाकछोप गर्नेमाथि पनि कडा कारबाही गरिने चेतावनी दिए ।

एसिड अपराधविरुद्ध कठोर सजायसहितको कानुन लागू भइसकेको स्मरण गर्दै उनले बलात्कारमा संलग्नलाई जोगाउन भनसुन, सिफारिस आउन सक्ने तर त्यसबाट टाढै रहन प्रहरीलाई निर्देशन दिए ।

‘बलात्कारका घटना कुनै पनि हालतमा मानवोचित छैन, निन्दनीय र मानवताविरोधी अपराध हो, यस्ता कुरा नियन्त्रण गर्न अझ कडा कानुन निकट भविष्यमा ल्याउनेतर्फ हामी सोचिरहेका छौं,’ ओलीले भने, ‘यस्ता अपराधविरुद्ध सक्रियता र निर्भीकतासाथ खटिन निर्देशन दिन्छु । नागरिक समाज पनि सजग रहन जरुरी छ । यस्ता अपराध मिलापत्रका नाममा छोपछाप पार्नेजस्ता क्रियाकलाप कुनै पनि हालतमा उचित र सह्य छैन, हुन सक्तैन ।’

उनले मुलुकको आन्तरिक सुरक्षाको मियोका रूपमा रहेको प्रहरीको भूमिका र कर्तव्यले मात्र समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताए ।

‘प्रहरीप्रतिको विश्वास कमजोर भयो, नागरिक–प्रहरी सम्बन्ध बिग्रियो भने शान्तिसुरक्षा कमजोर हुन्छ । जनसहयोगका बाटाहरू पनि कमजोर हुनेछन्,’ उनले भने, ‘प्रहरी गतिशील संगठन हो, सुधार र परिवर्तन संगठनभित्रैबाट हुनुपर्छ । प्रहरीका संस्थागत हित तथा प्रहरी कर्मचारीको कल्याणका लागि सरकार सदैव तत्पर छ ।’

२००७ सालमा स्थापना भए पनि ऐन जारी भएको साल २०१२ बाट प्रहरीले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृह सचिव महेश्वर न्यौपाने, बहालवाला तथा अवकाशप्राप्त उच्च प्रहरी अधिकारीलगायतको उपस्थिति थियो । कान्तिपुरमा खबर छ ।