सडेको अवस्थामा मृत भेटियो गैँडा

सडेको अवस्थामा मृत भेटियो गैँडा

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । 

निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो । 

करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताउनुभयो । सडेको अवस्थामा भेटिएको मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । 

चालू आर्थिक वर्ष २०७७/७८ को साउनयता निकुञ्जमा नौवटा गैँडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छवटा गैँडा मृत भेटिएका छन् ।

गैँडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताए ।