काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् परियोजनामा भ्रष्टाचार भएको भन्ने अभिव्यक्ति दिएपछि विवेकशील नेपाली दलले पनि त्यसप्रति चासो देखाएको छ । केही दिनअघि नेता भट्टराईले गोरखामा भएको एक कार्यक्रममा ‘बूढीगण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ बाँडेर खाएको र परियोजना अलपत्र पारेको’ आरोप लगाएका थिए ।
विवेकशील दलले सोमबार विज्ञप्तिमार्फत गम्भीर भ्रष्टाचारजन्य आरोप लगाएकाले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) लाई आग्रह पनि गरेको छ । आफूसँग त्यसको प्रमाणसमेत रहेको बताएका पूर्वप्रधानमन्त्री भट्टराईलाई ती प्रमाणहरू अदुअआमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न विवेकशीलले अनुरोध गरेको छ ।
'साथै यस प्रकरणमा आरोपित व्यक्तिहरूमध्ये दुई जना भूतपूर्व र एक जना बहालवाला प्रधानमन्त्री रहेका कारण व्यक्तिगत पहुँच तथा पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्नेतर्फ पनि अदुअआको ध्यान जानु जरुरी छ । यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषयसमेत भएकाले अदुअआले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनुपर्दछ', विज्ञप्तिमा भनिएको छ ।
'एक अर्को प्रसङ्गमा अदुअआमा रिक्त प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त गर्ने विषयमा संवैधानिक परिषद्को अध्यक्ष र सदस्यको रूपमा क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलको नेता शेरबहादुर देउवाले आफ्नाविरुद्धको छानबिन गर्नका लागि कस्ता पात्रहरू कुन प्रक्रियाबाट छनौट गर्ने हुन् ? हरेक नेपालीले गम्भीरतापूर्वक हेर्नुपर्ने छ ।'