जनप्रतिनिधिलाई धम्की दिएपछि ‘गुण्डा नाइके’ राधे पक्राउ

जनप्रतिनिधिलाई धम्की दिएपछि ‘गुण्डा नाइके’ राधे पक्राउ

काठमाडौँ । प्रहरीले गुण्डा नाइके मानिएका राधे भण्डारीलाई धम्की आरोपमा धादिङबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले भण्डारीलाई सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार गुण्डा नाइके भण्डारीले जनप्रतिनिधिलाई धम्की दिएका थिए । उनले सिद्धलेक गाउँपालिकामा क्रसर समेत सञ्चालन गरेका छन् । बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले त्यसो नगर्न भन्दा उल्टो धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए । नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै आएको स्थानीय बताउँछन् ।