कोरोनाको केन्द्र बन्यो काठमाडौं, दशैंको मुखमा उच्च जोखिम

कोरोनाको केन्द्र बन्यो काठमाडौं, दशैंको मुखमा उच्च जोखिम

काठमाडौं । भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्र्यायाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।

उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक जसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको छ ।

सरकारले पटक पटक आम नागरिकलाई कोरोनासँग ख्यालठट्टा नगर्न आग्रह गरे पनि स्वयं नागरिकले आत्मानुशासन तोड्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘कम्तीमा व्यक्ति व्यक्तिबीच दुई मिटर भौतिक दुरी कायम हुनुपर्छ । कुनै पनि बहानामा हेलचेक्र्यायाइँ गर्नुहुँदैन ।’

अन्य सबै जिल्लामा थपिएका संक्रमितलाई आधार मान्दा काठमाडौं उपत्यकामा मात्रै झन्डै ५० प्रतिशत धेरै संक्रमित थपिएका छन् । अन्य जिल्लामा १६ असोजसम्म २४ हजार ४ सय २३ संक्रमित थपिएकामा काठमाडौं उपत्यकामा मात्रै १३ हजार ८० संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७ सय ४१ पुगेको छ ।

हालसम्म काठमाडौंमा २१ हजार ६ सय ७३, ललितपुरमा २ हजार ६ सय ८७ र भक्तपुरमा २ हजार ३ सय ८१ संक्रमित पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १६ दिनलाई आधार मान्दा दैनिक काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट जोगिने उत्तम उपाय आत्मानुशासन रहेको बताए । उनले भने, ‘भौतिक दुरी कायम गर्नुपर्छ । भीडभाड गर्नुहुँदैन । मास्क सही तरिकाले प्रयोग गर्नुपर्छ ।’

बिहीबार देशभर अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

बिहीबार १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर डिस्चार्ज हुनेको संख्या ६० हजार १ सय ९६ पुगेको छ ।

देशभर २१ हजार २ सय ३४ जना सक्रिय संक्रमित छन् । हालसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । संक्रमितमध्ये ७३ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय ३९ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । २९ जना भेन्टिलेटर र २ सय १० जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । जसअन्तर्गत आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ८ जना आईसीयू र २२ जना भेन्टिलेटर, प्रदेश ५ मा ४१ जना आईसीयू र चार जना भेन्टिलेटरमा, प्रदेश १ मा २४ जना आईसीयू र २ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एक जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ जना आईसीयूमा उपचाररत रहेका छन् । राजधानी दैनिकमा खबर छ ।