चीनतर्फका दुई मुख्य नाका ठप्प

चीनतर्फका दुई मुख्य नाका ठप्प

काठमाडौं । सिन्धुपाल्चोकका व्यवसायी बलराम पराजुलीले रसुवागढीबाट भित्र्याउन खरिद गरेका तयारी पोसाक र जुत्ता चीनको केरुङ गोदाममा थन्किएको नौ महिना बितेको छ ।

‘आउट अफ फेसन’ भइसकेकाले सवा करोड रुपैयाँका ती सामान सबै बजारमा बिक्ने आस पराजुलीले मारिसकेका छन् । रामेछापका व्यवसायी नवीन थापाले खरिद गरेको झन्डै २ करोड रुपैयाँका चार कन्टेनर सामान ६ महिनादेखि केरुङको गोदाममा छ । हार्डवेयर, मोटर पार्ट्स, लुगाफाटालगायत सामान अड्किएका हुन् । उनले भने, ‘धेरै सामान काम नलाग्ने भइसके ।’

बलराम र नवीनजस्ता सयौं व्यवसायीका अर्बौं मूल्यका १२ सय कन्टेनर सामान केरुङमा अलपत्र छन् । चीनसँग जोडिएको अर्को पुरानो नाका तातोपानीपारि खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनर सामान थन्केको ६ महिना बितेको छ । भन्सारका एक नेपाली मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले दुई सातादेखि रसुवागढी नाका बन्द गरेको हो । अर्को नाका तातोपानीलाई विस्फोटको जोखिममा रहेको करिब ३५ किमिमाथि चीनतर्फको ‘क्यानोन कु’ तालको पानी घटाउने भन्दै बन्द गरिएको हो ।

केरुङमा सामान अलपत्र पर्न थालेको गत वर्ष पुसबाटै हो । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँ पक्षले दुई पटक बन्द गरिसकेको छ । गत जेठयता करिब एक महिनामात्रै उक्त नाका सञ्चालन भएको व्यवसायीको भनाइ छ ।

तिब्बतको नेलाम काउन्टीले सीमा क्षेत्रका आफ्ना नागरिकलाई सूचना जारी गरेर तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएका छन् । सामान रेखदेख गर्न सीमापारि जाने अनुमति नेपालीलाई छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार, भूकम्पपछि नेपाली व्यवसायीलाई खासा प्रवेश गर्नै दिइएको छैन । ‘आफ्नो सम्पत्ति सडकमा कुहिएर जाँदा पनि चुप लागेर बस्नुको विकल्प छैन,’ उनले भने ।

नेपाललाई साह्रोगाह्रो परेकै बेला उत्तरका दुवै चिनियाँ नाका बन्द हुने गरेका छन् । भारतले २०७२ सालमा नाकाबन्दी गरेका बेला तातोपानी नाका बन्द थियो, अलि अघि आएको भूकम्पले क्षति पुर्‍याएको कारण देखाउँदै । नेपालले निकै पटक अनुरोध गरे पनि गत वर्ष जेठमा मात्र उक्त नाका खोलियो । अहिले कोभिड–१९ को महामारीले आक्रान्त भएका बेला घोषणा नै गरेर दुवै चिनियाँ नाका बन्द गरिएका छन् । व्यवसायी भन्छन्, ‘यो त अघोषित नाकाबन्दीजस्तै भयो ।’

२०७२ सालको भूकम्पपछि व्यापारीका सयौं कन्टेनर सामान तातोपानी–खासा सडकमा पाँच महिना अलपत्र परेका थिए । भूकम्पका कारण गएको पहिरोले कतिपय कन्टेनर पुरिएका थिए, कतिपय सामान छरपस्ट भएका थिए । त्यतिबेला मितेरी पुलबाट एक किमि टाढा सडक आसपास र जंगलमा जताततै छरिएको र पानीले भिजेको सामान टुलुटुलु हेरेर बस्न विवश भएको व्यवसायीहरू बताउँथे । निकै लामो प्रयासपछि मात्रै चीनले ती सामान नेपाल भित्र्याउन दियो । तर सयौं कन्टेनर सामान पानीले भिज्दा व्यवसायीले करोडौं रुपैयाँ नोक्सानी व्यहोरे ।

‘त्यति बेला सामान ल्याउने के कुरा, व्यवसायीलाई उता छिर्नसमेत दिइएन,’ संघका पूर्वअध्यक्ष खत्रीले भने, ‘महिनौंसम्म चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालय धाउँदाधाउँदा कति सामान त्यहीं कुहिए, कति डेट एक्स्पायर भए ।’ त्यति बेलाको नोक्सानीका कारण कतिपय व्यवसायी पेसाबाटै पलायन भएको उनले बताए ।

भूकम्पपछि अहिलेसम्म दुवै नाकाबाट सर्वसाधारणको आउजाउ बन्द गरिएको छ । ‘अहिले पनि हामीले नयाँ कारोबार गर्न खोजेका होइनौं,’ संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘किनिसकिएका सामानमात्र ल्याउन देऊ भन्दा कतै सुनुवाइ भएन ।’ केरुङ र खासाबाट सामान ल्याउन सहजीकरण गरिदिन सरकारलाई महिनौंदेखि हारगुहार गरिरहेको पौडेलले बताए । अहिले पनि व्यवसायीहरू दिनैपिच्छे नेता र मन्त्री गुहार्दै हिँडिरहेका छन् ।

व्यवसायीको पीडा सरकारले हल्का ढंगले लिएको र चीनले सुनेको नसुन्यै जस्तो गरिरहेको उनले दुखेसो गरे । ‘सधैंको यो बेथितिका कारण वर्षौं लगाएर कमाएको सबै सम्पत्ति बिक्री गर्दा पनि व्यवसायी ऋणमुक्त हुन नसक्ने अवस्था बन्दैछ,’ उनले भने ।

चीनको मनसाय बुझ्नै नसकिएको नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले टिप्पणी गरे । ‘पानीजहाज र रेलको कुरा गर्छौं तर खरिद गरेको सामान ल्याउन पाइएन,’ उनले भने ।

नेपालीलाई आउजाउ बन्द

तातोपानी र रसुवागढी उत्तरी छिमेकी चीनसँगको व्यापारिक कारोबारका लागि प्रमुख स्थलमार्ग हो । सरकारले पनि चीनसँग पारवहनसम्बन्धी सम्झौता गरेर चिनियाँ बन्दरगाह र भूमार्गसमेतको प्रयोग गरी मालसामान आपूर्ति गर्न सक्छौं भन्ने सन्देश दिन खोजेको छ । नेपालले केरुङबाट रेल ल्याउने चीनसँग समझदारी पनि गरिसकेको छ ।

यही पृष्ठभूमिमा ‘नेपाललाई संकट पर्दा चीनले सहयोग गर्छ’ भन्ने गरिन्छ । तर चीनसँगका विद्यामान नाकाबाटै हुने व्यापारलाई व्यवस्थित बनाइएको छैन ।

भारतले ०७२ सालमा नाकाबन्दी गरेर नेपाललाई निकै अप्ठेरो पारेका बेला चीन जोड्ने मितेरी पुलको ढोका चार वर्षसम्म बन्दै रह्यो । तातोपानी नाका खुलाउन राजनीतिक रूपमै निकै ठूलो प्रयास गरियो तर खुलेन । वर्षौंदेखि दुवै मुलुकका सर्वसाधारण आउजाउ गर्दै आएको तातोपानी नाका नेपालीका लागि ५ वर्षदेखि बन्द छ ।

अहिले कोभिड–१९ महामारीले व्यवसाय अस्तव्यस्त छ । यही बेला नेपाली व्यवसायीले किनेका सामान सीमापारि चीनका गोदाम र सडकमै अलपत्र छन् । कान्तिपुर दैनिकमा खबर छ ।