अस्ट्रेलियामा समस्यामा परेका नेपाली विद्यार्थीलाई एकाको ४१ हजार डलर सहयोग

अस्ट्रेलियामा समस्यामा परेका नेपाली विद्यार्थीलाई एकाको ४१ हजार डलर सहयोग

अस्ट्रेलिया । कोरोनाको प्रभावका कारण अस्ट्रेलियामा समस्यामा परेका डेढ सय नेपाली विद्यार्थीलाई शैक्षिक परामर्शदाताहरूको छाता संगठन अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सी एलाइन्स (एका)ले  आर्थिक सहयोग गरेको छ। एकाले राजदूतावासको सहयोग र प्रत्यक्ष निगरानीमा समस्यामा परेका विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्नुका साथै केही नेपाली विद्यार्थीहरूलाई नेपाल पठाउन हवाइ टिकटको व्यवस्था समेत गरेको  एकाका अध्यक्ष पिआर अधिकारीले जानकारी दिए ।

एकाले सञ्चालन गरेको विद्यार्थी सहयोग अभियानमा कुल ५७ हजार डलर संकलन भएको थियो ।  ४१ हजार दुई सय पचास डलर सहयोगमा खर्च गरिएको एकाले जनाएको छ । बुधबार आयोजित कार्यक्रममा अस्ट्रेलियाका राजदूत महेशराज दाहालले विद्यार्थी अफ्यारोमा परेको बेलामा एकाले आफ्नो जिम्मेवारी महशुस गर्दै विद्यार्थीको सहयोगमा देखाएको तत्परता महत्वपूर्ण रहेको बताए।

राजदूत दाहालले राजदूतावासमा सहयोगका लागि आएका विद्यार्थीहरूको आवेदनका आधारमा एक सय पचास जना अत्यन्तै समस्यामा परेका विद्यार्थीलाई एकाको तर्फबाट सहयोग गरिएको र अन्यको हकमा एनआरएन लगायतका संघ संस्थाको पहलमा सहयोग गरिँदै आएको बताए। राजदूत दाहालले कोरोनाको पछिल्लो प्रभावमा करिब १८ सय विद्यार्थीले राजदूतावासमा सहयोगको लागि आवेदन दिएको र त्यसमध्ये सम्भव भएसम्म सबैलाई विभिन्न माध्यमबाट सहयोगको व्यवस्थापन गरिएको बताए।

राजदूतावासले  दैनिक १५, १६ घन्टा काम गरेर भए पनि विद्यार्थीलाई सहयोग गरेको  दाहालले बताए। कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्काले संसारका सबैस्थानमा कोरोनाको प्रभाव र अभाव रहेको बेला अस्ट्रेलियामा नेपाली समाजले देखाएको चासो र सहयोगको कार्य प्रंशसनीय रहेको बताए।

एकाका अध्यक्ष अधिकारीले विद्यार्थीको अभिभावकका रूपमा रहेको एकाले आफ्नो  धर्म निर्वाह गर्नेक्रममा विद्यार्थीहरूलाई सहयोग गरेको र यसलाई निरन्तरता दिने बताए । 

कार्यक्रममा एनआरएका उपाध्यक्ष देब गुरुङ, प्रवक्ता नन्द गुरुङ, सहयोग बितरण समितिका संयोजक निरज श्रेष्ठ, एकाका उपाध्यक्ष राजेश जोशी, पुर्व उपाध्यक्ष भुपाल सिटौला राजदुतावासका लेखा प्रमुख यादव कोइराला, आइसीसीका पुर्व सदस्य बालचन्द्र भट्टराइ, चितवन समाजका पुर्व अध्यक्ष सत्य प्रकाश कडेंल, तनहुँ समाजका महासचिव सूर्य खनाल लगायतको उपस्थिति रहेको थियो ।