मन्त्री आफैं ग्राहक बनेर २० किलो प्याज किन्न पुगेपछि ...

मन्त्री आफैं ग्राहक बनेर २० किलो प्याज किन्न पुगेपछि ...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्किएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफैं बजार अनुगमनमा निस्किएका हुन् ।

अनुगमनका क्रममा मन्त्री भट्ट आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेका उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

“मन्त्रीसमक्ष बिहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि  उहाँ आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो”,  उनले भने, “ ग्राहक बनेर मन्त्रीले करीब २० केजी प्याज समेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।”

बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ति थोक पसललाई कारवाही गर्न निर्देशन समेत दिएको उनका स्वकीय सचिव ओझाले बताए ।

उनका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज बिक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ ।

अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।