हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा, क्वारेन्टिनपछि आरोहण अनुमति दिइने

हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा, क्वारेन्टिनपछि आरोहण अनुमति दिइने

काठमाडाैं । हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आएका छन् । खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोण गर्ने उद्देश्यका साथ राजकुमार खलीफासहित १८ जनाको टोली आज काठमाडौँ आइपुगेको हो ।
 
राजकुमारसहितको टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । उक्त विमान आज बिहान ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । टोलीमा बहराइन रोयल गार्ड (डिभेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक रहेको बताइएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उद्देश्यसहित गएराति नेपाल प्रस्थान गरेको थियो ।

उक्त आरोहण टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले प्रस्थान पूर्व पर्वतारोहणमा सफलताको शुभकामना दिए । सो क्रममा राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे । 

मन्त्रिपरिषद्को यही भदौ १४ गतेको बैठकले बहराइनी राजकुमारसहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो । करिब दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको यो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणको पूर्वतयारीका रुपमा लिँदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ ।
    
क्वारेन्टिनपछि आरोहण अनुमति
हिमाल आरोहणका लागि आएको सो टोलीले पर्यटन विभागबाट आरोहण अनुमति लिनुपर्ने हुन्छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका लागि नेपाल आएको राजकुमारसहितको टोलीले हवाई उड्डयन मापदण्डअनुरुप क्वारेन्टिनमा बस्ने र पिसिआर परीक्षण नेगेटिभ आएपछि मात्रै विभागबाट आरोहण अनुमति पाउनेछ ।
     
सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागका निर्देशक अचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।