चामल खरिदमा चलखेल, पुराना कर्मचारी हटाएर नयाँलाई सरुवा गरी सेटिङ !

चामल खरिदमा चलखेल, पुराना कर्मचारी हटाएर नयाँलाई सरुवा गरी सेटिङ !

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ ।

कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका छन् ।

आफ्नो इसारामा काम नगर्ने कर्मचारीलाई कार्यालयबाट हटाएर आफ्नो इसारामा काम गर्ने कर्मचारी ल्याउन थालिएको छ । यस कार्यको चाँजोपाँजो कम्पनीका नायब महाप्रबन्धक मोतीराज ज्ञवालीले गर्ने गरेको कम्पनीका एक अधिकारीले बताए ।

कम्पनीका अनुसार महाप्रबन्धक ज्ञवालीले चामल खरिद गर्दा सेटिङ मिलाउनकै लागि केही दिनअघि मात्रै शभु रेग्मीलाई सोलुखुम्बुको शाखा कार्यालयबाट लहानको मुख्य शाखा कार्यालयमा सरुवा गरेका छन् । लहानको मुख्य शाखा कार्यालयमा कार्यरत गंगाप्रसाद साहलाई जनकपुर कार्यालयमा सरुवा गरिएको छ ।

जनकपुरमा कम्पनीको आफ्नै मिल छ । त्यहाँ अहिले कुनै खरिद कारोबार नहुँदा शाहलाई जनकपुरमा पठाएर लहानमा चामल खरिद प्रक्रिया सुरु भएकाले कमिसन सेटिङका लागि रेग्मीलाई लहानको मुख्य शाखा कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ । लहानमा अहिले कम्पनीले ७ करोड २७ लाख १३ हजार रुपैयाँ लगानीमा १४ हजार ५ सय क्विन्टल चामल खरिद गरिसकेको छ ।

हाल लहानमा ९ हजार ५ सय क्विन्टल सानो मन्सुली चामल र ५ हजार क्विन्टल स्टिम जिरा मसिनो चामल खरिद प्रक्रिया जारी छ । खाद्य कम्पनीले वार्षिक कार्यक्रमअनुसार धानचामल खरिद गर्दा कर्मचारीकै मिलेमतोमा कम्पनीलाई घाटामा पारी व्यापारीसँग कमिसन खाँदै आएको कर्मचारीकै आरोप छ ।

धानचामल खरिद गर्ने क्रममा कमिसन खान कम्पनीकै खाद्य प्राविधिकलाई नै दबाबमा पारेर चामल खरिद गर्दा कमिसनको खेल हुने गरेको छ । खाद्य प्राविधिकलाई कमसल चामल समेत गुणोस्तरयुक्त बनाई सिफारिस गर्न लगाएर व्यापारीसँग मिलेर कर्मचारीले वर्षांैदेखि कमिसन खाँदै आएको स्रोतको दाबी छ ।

कम्पनीमा १३ जना खाद्य प्राविधिक छन् । जसमध्ये अधिकांश प्राविधिकलाई कम्पनीका महाप्रबन्धक ज्ञवालीलगायत केही कर्मचारीले आफ्नो अनुकूलमा काम गर्न लगाउने गरेका छन् । धानचामल खरिद गर्दा खाद्य प्राविधिकले धानचामलको गुणस्तर चेकजाँच गरेको रिपोर्टअनुसार खाद्यान्न खरिद गर्नुपर्ने हुन्छ । अधिकांश प्राविधिकले परीक्षणको नाममा औपचारिकता मात्रै निर्वाह गर्ने गरेको बताइएको छ ।

मापदण्डविपरीत काम गर्न नमानेकै कारण बाग्मती प्रादेशिक कार्यालय थापाथलीमा कार्यरत खाद्य प्राविधिक सन्जु रानीलाई सरुवा गरिएको कम्पनी स्रोतले जनाएको छ । स्रोतका अनुसार खाद्य प्राविधिक सन्जु रानीको ठाउँमा कम्पनीको प्रधान कार्यालयअन्तर्गत गुणस्तर नियन्त्रण इकाइमा कार्यरत खाद्य प्राविधिक अधिकृत करिष्मा डंगोललाई ल्याइएको छ ।

कम्पनीका नायब महाप्रबन्धक ज्ञवालीले रेग्मीलाई दुई ठाउँको जिम्मेवारी दिइनु गलत भएको कर्मचारीकै भनाइ छ । रेग्मीले सोलुखुम्बु शाखा कार्यालयको काम फोनबाट कार्यालय सहयोगीमार्फत गराउने गरेका छन् । सोलुखुम्बु शाखा कार्यालयमा कारोबार न्यून भएकाले आफू लहान आएको रेग्मीले बताए ।

अर्काे कार्मचारी नआएसम्म आफूले दुवै कार्यालयको जिम्मेवारी सम्हाल्ने रेग्मीको भनाइ छ । रेग्मीले १२ भदौ देखि लहानको मुख्य शाखा कार्यालय प्रमुख र सोलुखुम्बुको शाखा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले आवश्यकताअनुसार नै कर्मचारीको सरुवा भएको दाबी गरे । सोलुखुम्बु र लहानमा एउटै व्यक्तिलाई जिम्मेवारी दिएर सरुवा गरिएको विषय आफूलाई समेत पछि मात्र थाहा भएको सुवेदीले बताए । कौशिला कुवँरले राजधानी दैनिकमा खबर लेखेकी छन् ।