जबर्जस्ती  मच्छिन्द्रनाथको रथयात्रा निकालेपछि प्रहरीसँग झडप (फोटोफिचर)

जबर्जस्ती  मच्छिन्द्रनाथको रथयात्रा निकालेपछि प्रहरीसँग झडप (फोटोफिचर)

काठमाडाैं । 'वर्षा र सहकालका देवता' रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी हटाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहान ११ बजेतिर रथयात्रा गर्न आएका थिए । 

महामारी नियन्त्रण नभएसम्म मच्छिन्द्रनाथको रथयात्रा तथा भोटोजात्रा दुवै गर्न अनुमति नदिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनले भने, “हामीले कुनै पनि मानवीय क्षति हुन नदिई सामान्य तरीका अपनाएर रथयात्रा गर्न आएका मानिसलाई हटायौँ ।” ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ । 

वृष्टिदेवको रथयात्रा गर्न आएका मानिसलाई प्रहरीले कोरोना बढ्ने देखी पुल्चोकबाट हटाएको पुजारी पूर्णराज शाक्यले बताए । रथयात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरु सडकमा उत्रिएको हुन सक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए । ‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छौं’ भन्ने  नाराका साथ थुप्रै युवा सडकमा उत्रिएका देखिन्थे । ती युवा सडकमा उत्रिएर करीब २० पाइला रथयात्रासमेत गरे । 


   
यसअघि पनि कोभिड–१९ का कारण पटक पटक  लोकेश्वरको रथयात्रा अन्योलमा परेको थियो ।  आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण् भएको रथमा विराजमान गराइएको थियो ।  हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर भोटो जात्रा गर्ने चलन छ । यस वर्ष भने महामारीका कारण  मच्छिन्द्रनाथको भोटोजात्रा कहिले सम्पन्न हुन्छ भन्ने कसैलाई पनि जानकारी छैन ।  
    
विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।  किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी नागहरु इताउता लागेपछि वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।