प्रहरीलाई जिल्याउँदै भागे विप्लवका दुई नेता, यसपटक काम लागेन फेरि पक्राउ गर्ने योजना !

प्रहरीलाई जिल्याउँदै भागे विप्लवका दुई नेता, यसपटक काम लागेन फेरि पक्राउ गर्ने योजना !

सप्तरी । नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र  सुमनसिंह पौडेल आइतवार सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् ।

सर्वोच्च अदालतको आइतवारको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहवरमा  उनीहरूलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर  फरार भएको  सप्तरी बार एसोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आइतवार अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरूलाई आइतवार साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले  चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो ।

जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए ।  सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

यसअघि अदालतको आदेशबमोजिम छुट्ने नेताहरूलाई अर्को मुद्दा लगाएर प्रहरीले गेटबाटै पक्राउ गर्ने गरेको थियो । तर, यसपटक उनीहरू प्रहरीलाई पनि झुक्याउँदै भाग्न सफल भएका छन् ।