रक्सीको व्यापार, सुरक्षित लगानी

रक्सीको व्यापार, सुरक्षित लगानी

काठमाडाैं । हलिउडका चर्चित हिरो रयान रेनल्डको यस वर्ष नेटफ्लिक्समा दुई फिल्म रिलिज भए र ती फिल्मबाट उनले ४० मिलियन डलर पाए । उनको एउटा रक्सी कम्पनी (जिन उत्पादक) थियो, एभिएसन अमेरिकन । त्यसको बहुमत सेयर उनको नाममा थियो । त्यसलाई ६१० मिलियन डलरमा बिक्री गरे । ३३५ मिलियन डलरमा नगद लिए भने बाँकी रकम १० वर्षका क्रममा क्रमशः पाउने छन् । उनले ती १० वर्षमा उनले आफ्नो स्वामित्व गुमाउने भए पनि त्यसको विज्ञापनमा उनी नै देखा पर्नेछन् ।

अर्का हलिउड स्टार जज क्लुनीको पनि रक्सी उत्पादक कम्पनी थियो, क्यासामिगोज नाममा टकिला उत्पादक । त्यो पनि उनले हालै बेचे, ७०० मिलियन डलरमा । रयाप गायक पी डिड्डीले १०० मिलियन डलरमा भोडका कम्पनी बेचे, जुन उनले डेभिड बेकह्यामसँगको साझेदारीमा खडा गरेका थिए ।

रेनल्डले बेचेको कम्पनी २०१८ मा किनेका थिए र राम्रै व्यापार भइरहेको बताइएको थियो । एउटा हल्ला थियो, एक दिन बारमा जिन पिउँदै गर्दा एभिएसन अमेरिकनको स्वाद रेनल्डलाइ यति मन पर्यो कि उनले त्यो कम्पनी नै किनिदिए ।

रक्सीको व्यापार खासमा सबैभन्दा सुरक्षित लगानी हो । यो कुरा तिनलाई थाहा छ । नेपालका कतिपय कलाकारहरूले पनि यो कुरा बुझेका छन् ।

पैसा हुञ्जेल, कमाउञ्जेल कतिपयले मस्तसँग उडाउँछन्, खानपिनमा । लगानीबारे रत्तिभर सोच्दैनन् । मर्ने बेलामा कात्रो पनि अरूले किनिदिनुपर्ने अवस्था आउँछ ।