अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना–६ जलबिरेमा पहिरो खसेपछि शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएका थिए ।

पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक पुनः सञ्चालन  भएपछि सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यसैबीच पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको  छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको हो । दुईतर्फी  सडक  खुलाउने प्रयास  भइरहेको इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको  छ । यसअघि बिहीबार पनि सोही ठाउँ पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएका थिए ।