गोली हानेर अपहरणकारी पक्राउ, अपहरणमा परेका बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, अपहरणमा परेका बालकको सकुशल उद्धार

वीरगञ्ज : वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका काभ्रेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हो ।

प्रहरीले मंगलबार राति पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको हो । गोली दासको दाहिने खुट्टामा लागेको छ । एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ गरेको पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले पुष्टि गर्नुभयो ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताउनुभयो । साथै बालकको सकुशल उद्दार गरिएको उहाँको भनाइ छ ।गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।