निर्मला पन्त प्रकरणमा जोडिएका एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

निर्मला पन्त प्रकरणमा जोडिएका एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीलाई सफाइ दिएको छ । आज न्यायाधीश गोपालप्रसाद वाँस्तोलाको इजलासले यातना दिएको र सार्वजनिक न्यायविरुद्धको कसूरवाट प्रहरीलाई सफाइ दिएको हो ।

यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर सेठीले सफाइ पाएका हुन् । त्यस्तै प्रहरीहरू चाँदनी साउद, जगदीशप्रसाद भट्ट, रामसिंह धामी र हरिसिंह धामीले पनि सार्वजनिक न्यायविरुद्धको कसूर गरेको अभियोगबाट सफाइ पाएका हुन् ।

निर्मला पन्तको बलात्कार र हत्या आरोपीको रुपमा प्रहरीले सार्वजनिक गरेका खड्कसिंह विष्टले चार जना प्रहरीविरुद्ध यातना दिएको भन्दै जाहेरी दिएपछि उनीहरूविरुद्ध मुद्दा परेको थियो । त्यस्तै मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आठ जना प्रहरी अधिकारीविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूरमा जाहेरी दिएकी थिइन् ।

दुवै मुद्दा कञ्चनपुर जिल्ला अदालतमा २२ फागुन २०७५ मा दर्ता भएका थिए । यो फैसलासँगै निलम्बित प्रहरीलाई काममा फर्कने बाटो खुलेको छ । दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो । तर बलात्कारपछि हत्यामा संलग्न व्यक्ति भने अझै पक्राउ परेका छैनन् ।