काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ कै तालिकामा हुने निश्चित भएपछि पार्टी सभापतिको प्रमुख दाबेदारमा सात जना नेता देखिएका छन्। पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिएका उपसभापति विमलेन्द्र निधिले समेत नेतृत्वमा इच्छा देखाएका छन्। महामन्त्री डा शशांक कोइरालासँगको भेटमा उनले आगामी महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने गरी तयारी गरेको खुलाएका थिए।
निधिसँगै अन्य शीर्ष नेताहरू रामचन्द्र पौडेल, पार्टी महामन्त्री कोइराला, शेखर कोइराला, रामशरण महत र प्रकाशमान सिंहको पनि सभापति हुने मनसाय छ। गत महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गरेका पार्टीका अर्का नेता कृष्णप्रसाद सिटौला भने दोधारमा छन्।
निधि देउवाको समर्थनका साथै पार्टीका वरिष्ठ नेताहरुसँगको छलफलपछि उम्मेद्वारी घोषणा गर्न चाहन्छन्। उनले गत महाधिवेशनमा सभापतिमा देउवालाई समर्थन गरेका थिए। त्यसबापत देउवाले निधिलाई पार्टीको उपसभापतिमा मनोनीत गरेर गुन तिरेका थिए। तर देउवा आफैं अन्तिम पटक सभापति उठ्न चाहन्छन्।
संस्थापनमा देउवा र निधिबाहेक अन्य आकांच्छी देखिएका छैनन्। निधि देउवाको विकल्प बन्ने कोसिसमा छन्। पौडेल, कोइरालाद्वय, महत र सिंह एकै खेमाका हुन्। इच्छुक धेरै भएकाले पौडेल क्याम्प विभाजित छ। शेखर कोइराला र महत जसरी पनि उठ्ने दाउमा छन्।
गत पुस ११ गते सार्वजनिक कार्यतालिकाअनुसार १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ। कोरोनाभाइरस महामारीका कारण क्रियाशील सदस्यता नवीकरण, वितरण र संघीय संरचनाअनुसार पार्टी संगठन संरचना समायोजनका काम प्रभावित छन्। २ नम्बर प्रदेशका सबै जिल्लामा समायोजनको काम अगाडि बढ्न सकेको छैन् ।
यसपटक कांग्रेसले ७ प्रदेश, १६५ संघीय निर्वाचन क्षेत्र, ३३० प्रादेशिक निर्वाचन क्षेत्र, ७५३ स्थानीय तह र ६,००० भन्दा बढी वडा समितिको निर्वाचन गर्नेछ।
सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल सकिएर थप भएको एक वर्ष समयभित्रै महाधिवेशन सक्नुपर्ने बाध्यकारी अवस्थाका कारण महाधिवेशन तयारी गर्नुपरेको हो। अब कांग्रेसका तल्ला तहका अधिवेशन पुसदेखि सुरू हुनेछन्।
कांग्रेसमा साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्यता वितरण हुन्छ। क्रियाशील सदस्यहरूले क्षेत्रीय समिति चुन्छन्। तिनै सदस्यबाट क्षेत्रीय समिति चुनिन्छन् जो महाधिवेशन प्रतिनिधि हुन्छन्। २०७२ मा भएको १३ औं महाधिवेशनमा कांग्रेसका चार लाख ८० हजार क्रियाशील सदस्य थिए।
नेपाली राजनीतिको पुरानो पार्टी कांग्रेसमा बूढा नेताहरुलाई विश्राम लिन चर्को दबाब छ। तर यसपटक पनि युवा नेताहरुले पालो पाउने अवस्था देखिएको छैन।