भाडा तिर्न दबाव दिएको भन्दै सिभिल मलका व्यापारीले सञ्चालकलाई बुझाए चाबी

भाडा तिर्न दबाव दिएको भन्दै सिभिल मलका व्यापारीले सञ्चालकलाई बुझाए चाबी

काठमाडौं । भाडा तिर्न दबाव दिएको भन्दै सिभिल मलका व्यापारीहरूले सामूहिक रूपमा पसलको चाबी सञ्चालकलाई बुझाएका छन्। ३ महिना पसल बन्द गरेर असार १ गतेदेखि सञ्चालन गरे पनि बोहोनी समेत नभएको अवस्थामा मल सञ्चालकले भाडा तिर्न लिखित र मौखिक रूपमा दबाव दिएको कारण चाबी बुझाउनु परेको सिभिल मल व्यापार संघले जनाएको छ।

‘यस्तो अवस्थामा सरकारले कर तिर्न ताकेता गर्नु, सावा ब्याज भुक्तानी गर्न व्यापारीलाई बैंकले दबाव गर्नु, बन्द अवधिको पनि कर्मचारीलाई तलब दिनुपर्ने र पसल भाडा तिर्नुपर्ने हामीलाई दबाव छ,’ संघको विज्ञप्तिमा उल्लेख छ। सञ्चालकले असार २५ गते भाडा नतिरे बिलम्ब शुल्क लाग्ने चेतावनी दिएको संघले जनाएको छ।

अहिलेको अवस्थामा आम्दानी नै नभएको र भोलिको दिनमा पनि व्यापारको वातावरण नभएर भाडा तिर्न नसक्ने हुँदा चाबी बुझाइएको संघले जनाएको छ। व्यवसायीले पूर्ण लकडाउन अवधिको भाडा शत प्रतिशत छुट हुनुपर्ने माग गर्दै सिभिल मल अगाडि धर्ना पनि दिएका छन् ।