प्रचण्ड–ओली प्रेमयुद्ध

प्रचण्ड–ओली प्रेमयुद्ध

काठमाडाैं । पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी ओलीबिचको दुश्मनी मान्छेले भुल्न भ्याएकै थिएन । उनीहरुबिच अभूतपुर्व मित्रता भयो । त्यो मित्रतालाई कसैले आशिर्वाद देखे । कसैले सराप । त्यही मिलनको आशिर्वादमा दैवले ओली कमरेडलाई दुई तिहाइको बहुमतसहित शासनसत्ताको उपहार दियो । कमरेड प्रचण्ड एकाएक नायक बनिगए । कुन दाउ लगाएर कमरेडहरुले अंकमाल गरे भन्ने प्रश्न र अनुमान निरन्तर चलिरह्यो । शक्ति र सत्ता पालैपालो आफ्नै पोल्टामा पारिराख्ने त्यो दाउपेचको भेद अहिले पो खुल्दै छ । दुश्मनी र मित्रता दुवै निभाएका यि कमरेडहरुलाई यतिबेला आफैले स्थापित गरेको साझेदारी घाँडो भएको छ । बलियो बन्ने र कमजोर बनाउने खेलमा कसले बाजी मार्छ, हेर्न बाँकी नै छ । जोकसैले बाजी मारेपनि त्यो एकता भत्कने प्रचुर सम्भावना देखिन थालिसकेको छ । 

दुई तिहाइ बहुमतले सदर गरेको ओली नेतृत्वको सरकार बलियो, स्थायी र भरपर्दो हुनुपर्ने हो । तर नेकपाभित्रैबाट विरोध शुरु भएपछि ओली सरकारको जग हल्लिएको छ । दुई तिहाइ फाटेर धुजा धुजा भैजाला जस्तो देखिन्छ । हुन त, सत्ता केन्द्रित राजनितीमा जस्तोसुकै सम्भावना पनि अकल्पनिय हुँदैन । राजनितीक शक्तिहरुको जोडिने टुक्रिने खेल पनि अचम्मको कुरा रहेन । तैपनि, वर्षौंमा एउटा बलियो सरकार पाएपछि जनमानसमा ठूलै आशा पलाएको थियो । अपसोच, डरलाग्दो अस्थिरताको स्पष्ट संकेत देख्न थालिएको छ । 

आफ्नै डियर कमरेडहरुले ओली महोदयको राजिनामा मागे । यो मागसँगै सानाठूला शक्तिहरुको मोलमोलाई शुरु भयो । यो मोलमोलाईको निस्कर्ष निक्लन नेकपाभित्र ठूलै स्केलको भुकम्प आउने आँकलन गर्न सकिन्छ । कोही केही गुमाउन तयार छैन तर हरेक सानो ठूलो शक्तिलाई केही न केही चाहिएकै छ । कमरेड पुष्पकमल दाहालले कमरेड नेपाल, खनाल र गौतमलाई घोट्नु घोटेपछि नेकपाभित्र यो आगो सल्कियो । त्यही आगोमा कमरेड ओलीको नेतृत्व शैलीले घिउ थपिदिएको छ । 

नेकपा डबल डिभोर्सको संघारमा छ । नेकपा भित्र र बाहिर यो डिभोर्स भैजाओस् भनेर देवीदेवता भाक्नेहरु कत्ति छन् कति । नेकपालाई यस दुर्घटनाबाट जोगाउन खोज्नेहरु खोज्दा पनि भेट्टाउन मुश्किल छ । यो दुर्घटनामा नेकपा डबल त डुब्छ नै । सँगसँगै अरु धेरै वर्षसम्म बलियो सरकारको सम्भावना पनि सकिन्छ । देशमा बलियो स्थायी सरकार नहुँदा प्रगतीको मति र गति दुवै हराउँछ । फेरी मिलीभगतको घिसिपिटीमा घस्रिने बाहेक अर्को विकल्प हुँदैन । कामना गरौं त्यस्तो नहोस् । 

ओली–प्रचण्ड एकता÷सम्झौतामा कमरेड प्रचण्डको त्याग प्रशंसनिय थियो । त्यो सम्झौतालाई सकारात्मक देख्नेहरुको आँखामा कमरेड प्रचण्ड हिरो सिद्ध भएका थिए । त्यो बेला कमरेड ओली कुशल म्यानेजर र प्रचण्ड साँच्चिकैको नेता जस्तो देखिएका थिए । कतै त्यही त्यागको ब्याज र स्याजको हिसाबकिताब त होइन अहिलेको बार्गेनिङ्ग ? 
खयर, यो एकता भाँच्चिनु नेपाल र नेपालीकै लागि दुर्भाग्य हो । ओलीको नेतृत्वमाथि उठेका–उठाइएका कैंयन सबालहरु जायज छन् । यी सबालहरुका आधार ओली स्वयं हुन् ।  कमरेड ओलीको नेतृत्व र व्यवस्थापकिय कौशलताले जन्माएका संकटहरु कोरोना महामारीले निम्त्याएका संकटभन्दा धेरै गम्भिर छन् । सरकार संकटप्रति उत्तरदायी र संवेदनशिल नभएकै हो । हाँस्यरस अनिवार्य शर्त हो । तर सरकारको तर्फबाट हुँदै आएको ठट्टाले सरकारलाई पुरै अपरिपक्व प्रमाणित गरेको छ । 

तर मुख्य प्रश्न के हो भने के यो ओलीको राजिनामा माग्ने उचित समय हो ? मुलुकको हरेक क्षेत्र संकटले ग्रस्त छ । बार्गेनिङ्गको लागि यो संकटग्रस्त मौसम कसरी अनुकुल हुन सक्छ ? असल सहयोगी, सचेतक, समालोचक, मार्गदर्शक र अभिभावकको रुपमा सरकारको निगरानि राख्दै यो संकटले जन्माएका चुनौतीहरुको समाधानका लागि मुख्य भुमिका निभाउँदा पनि कमरेड प्रचण्डको जय जयकार नै हुन्थ्यो । 

कमरेड ओलीले पनि आफ्नो अहं र स्वार्थ बिर्सिदिँदा के नै पो बिग्रन्थ्यो र । सत्ता र शक्तिको रहर त पुरा भयो नै । व्यक्तिगत स्वार्थका लागि त्यो पवित्र एकता भाँच्नुको के अर्थ छ ? गुटबन्दी गरेर र गुटबन्दीलाई हौसाएर के नै पो जित्न सकिन्छ र? हदै भए, अरु केही महिना वा वर्ष सत्तामा टिक्नु नै त हो । असफलतालाई आत्मसात गर्न यति धेरै मुश्किल किन पो हुन्छ ? इतिहासमा नायक बन्ने कि खलनायक ? 

त्यो मितेरी मिसन सत्तामा मात्रै केन्द्रित थियो भने कमरेडद्वयले खिचाएको हस्तमिलनको तस्विरले आम नेपालीसँग प्राणघातक ठट्टा गरेको छ ।