सगरमाथाको उचाई घोषणा छिट्टै गर्नेछौं: परराष्ट्रमन्त्री ज्ञवाली

सगरमाथाको उचाई घोषणा छिट्टै गर्नेछौं: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको तर्फबाट सगरमाथाको उचाई  छिट्टै घोषणा हुने बताएका छन् ।  राष्ट्रियसभामा आजको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नापी विभागका कर्मचारीले सगरमाथाको उचाई नापेको र डाटा प्रोसेसिङको काम अन्तिम चरणमा पुगेको भन्दै उचाई घोषणा गर्ने तयारी भइरहेको बताए।

सगरमाथाको उचाईको सन्दर्भमा त्यसको वास्तविक उचाई हिउँको रेखा (स्नो लाइन)लाई मान्ने कि चट्टानको उचाईलाई मान्ने भन्नेचाहिँ नेपाल र चीनको बीचमा छलफल चलिरहेको उनको भनाइ थियो । 

'हामीले सुरुदेखि नै हिउँको लाइनलाई मानेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मान्दै आएका छौं। संसारले पनि यही कुरा मान्दै आएको छ। तर बीचमा चीनले आफूले नापी गर्दा उसले हिँउँको रेखाभन्दा तल वास्तविक चट्टानको उचाई कति हो त, ८ हजार ८ सय ४४ दशमलव ४३ भनेर नाप गर्‍यो', उनले भने।