अस्ट्रेलियामा ठगीको आरोपमा दुई नेपाली पक्राउ, के हुन्छ सजाय ?

अस्ट्रेलियामा ठगीको आरोपमा दुई नेपाली पक्राउ, के हुन्छ सजाय ?

काठमाडौं । ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा  अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई पश्चिमी सिड्नीबाट सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ ।

ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।

पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।

प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको हो । हिरासतमा रहेका उनीहरुको सुनुवाइ अगष्ट २० मा हुनेछ ।

अनुसन्धानका क्रममा भारतमा रही ईन्टरनेट र फोन मार्फत ठगी गर्ने र यस्तो रकम विभिन्न व्यक्तिहरुलाई काममा लगाई मनी ट्रान्सफर या हुन्डी मार्फत भारतमा लैजाने गिरोह खुलेको छ ।

पक्राउ परेका नेपाली युवाहरु कुरियर काम मात्रै गर्नेहरु हुन् अथवा यो सम्पूर्ण ठगीमै जानीजानी संलग्न व्यक्तिहरु हुन् भन्ने विषय अनुसन्धानमा छ ।

पक्राउ परेका दुबै नेपालीहरुलाई छलकपट गरी सम्पत्ति आर्जन गर्न खोजेको तीन अभियोग र जानीजानी अपराधीहरुसँग कारोबार गरेको ३ गरी ८ अभियोग लगाइएको छ ।