कालापानीमा नेपाल टेलिकमको सेवा शुरु

कालापानीमा नेपाल टेलिकमको सेवा शुरु

काठमाडौं । नेपाल टेलिकमले कालापानी क्षेत्रलाई मध्यनजर गर्दै सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । सरकारले नेपालको नयाँ नक्सामा कालापानी तथा लिपुलेकलाई समावेश गरेसँगै टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । 

सोमबार नेपाल टेलिकमले यसको सफल परीक्षण गरेको छ । हिजो सोमबारदेखि व्यास गाउँपालिकामा सीडीएम मोबाइल  सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । ‘पहिला यस इलाकामा नेपाल टेलिकमको भी च्याट मार्फत सेवा सञ्चालनमा थियो,’ उनले भने ‘अहिले पुरानो टावरलाई मर्मत गरेर भारतीय भूभागमा पनि सेवा प्रदान गर्ने गरी तत्कालीन सेवा प्रदान गरिएको हो ।’

यसअघि उक्त क्षेत्रमा रहेको टावरलाई पुनःमर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको टेलिकमले जानकारी दिएको छ  । नेपालसहित भारतीय सिमा क्षेत्रका बासिन्दाले समेत टेलिकमको सीडीएमए प्रयोग गर्दै आएका थिए । मौसमका कारण लामो समयदेखि त्यहाँ सेवा अवरुद्ध थियो । अब फेरि टावर  सञ्चालमा आएपछि त्यहाँका आम बासिन्दा सूचना प्रविधिमा गाँसिएका छन् । 

टेलिकमले सञ्चालनमा ल्याएको टावरबाट कालापानी, छाङ्रु,  कुटी, गुन्जी र टिंकर क्षेत्रमा गुणस्तरीय मोबाइल सेवा उपलब्ध भएको छ । उक्त टावरबाट भारतको धार्चुलाका बासिन्दा समेत लाभान्वित हुनेछन् । उक्त क्षेत्रमा अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको उपस्थिति छैन ।