कोरोनाको कारण अर्थतन्त्र डामाडोल, जग्गाको मूल्य ह्वात्तै घट्ने चर्चा

कोरोनाको कारण अर्थतन्त्र डामाडोल, जग्गाको मूल्य ह्वात्तै घट्ने चर्चा

काठमाडौं । कोरोना भाइरसको कारण नेपालको मात्र नभएर विश्वकै अर्थतन्त्र ओरालो लागेको छ । यसको असर घरजग्गाको मुल्यमा पर्ने अर्थविद् बताउँछन् । यता सरकारले पनि आगामी वर्ष जग्गाको मूल्य नबढाउने भएको छ । हरेक वर्ष सरकारले जग्गाको न्यूनतम मूल्य बढाउने गर्छ । कोरोना भाइरसका कारण भएको लकडाउनले आर्थिक क्रियाकलाप शिथिल बनेसँगै आगामी आर्थिक वर्षको लागि सरकारले तोक्ने जग्गाको न्यूनतम मूल्यलाई यथावत राखिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मालपोत कार्यालय तथा स्थानीय तहबीच हुने सहमतिको आधारमा जग्गाको मूल्यांकन बढाउने गरिन्छ । असार मसान्तभित्रमा जग्गाको न्यूनतम मूल्यको बारेमा निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदीले आगामी वर्षको लागि अधिकाशं स्थानमा जग्गाको न्यूनतम मूल्यांकलन नबढ्ने बताए ।

‘मूल्यांकन कति गर्ने भन्ने निर्णय सम्बन्धित मालपोत कार्यालय, स्थानीय तह र जिल्ला प्रशासनको सहमतिमा हुने हो, यो वर्ष धेरै स्थानमा मूल्यलाई यथावत राखिने हुन्छ,’ उनले भने ।

यद्यपी केही स्थानमा पूर्वाधार निर्माण हुने र जग्गाको कारोबार बढ्ने अनुमानको आधारमा मूल्य भने बढ्छ । ‘हरेक वर्ष सबै ठाउँमा बढ्ने गरेको जग्गाको न्यूनतम मूल्य यो वर्ष बढ्ने छैन,’ उनले भने ।

अघिल्लो वर्ष काठमाडौं उपत्यकामा आनाको १० लाखसम्मले सरकारको न्यूनतम मूल्य बढेको थियो । सरकारले राजस्व प्रयोजनका लागि न्यूनतम मूल्य तोकेपनि कारोबार भने त्यती रकममा हुने गर्दैन । सरकारले न्युनतम मूल्य तोकेपनि त्यो भन्दा बढी मूल्यमा बजारमा जग्गाको कारोबार हुने गरेको छ ।