मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल : गृहमन्त्री थापा

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल : गृहमन्त्री थापा

बुटवल : गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास असफल भएको दाबि गर्नुभएको छ । गृह मन्त्रालय र प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधनगर्दे उहाँले शान्ति सुरक्षाको स्थिति पहिलेको जस्तो नभएको बताउनुभयो ।

‘शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ, हिजो जस्तो अवस्था छैन,’ गृहमन्त्री थापाले भन्नुभयो , ‘शान्ति सुरक्षामा जुन समस्याहरु देखा परेका थिए, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भएका थिए, ती प्रयास धेरै हदसम्म समाधान भए ।’ पूर्वसभामुख कृष्णबहादुर महरा, सांसद अफताव आलममाथि भइरहेको कानुनी कारवाहीतर्फ इंगित गर्दै गृहमन्त्री थापाले कानून कार्यान्वयनको प्रक्रिया ठोसरुपमा अघि बढेको बताउनुभयो ।

उहाँले नेपाल प्रहरीको संरचनालाई सङ्घीय संरचनाअनुरुप लैजाने कार्यमा सरकारले छिट्टै नै कानूनी प्रक्रिया पूरा गरेर प्रदेशमा प्रदेश प्रहरीको संरचना स्थापना गर्ने गृह कार्य गरिरहेको जानकारी दिनुभयो । गृहमन्त्री थापाले सरकारले अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउँदै लगेको बताउँदै चिनियाँ राष्ट्रपतिको झण्डै दुई दशकपछिको नेपाल भ्रमणले नेपालको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

आगामी चार वर्ष्भित्रमा दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेतर्फ सरकार सकारात्मक दिशामा अघि बढिरहेको उहाँको भनाइ छ । सोमबारदेखि शुरु भएको प्रदेशस्तरीय गोष्ठीमा आज गृहमन्त्री थापासहित मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत सहभागी भएका छन । यस्तै गाष्ठीमा प्रदेश नंं. ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको छ ।