म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित सबैले पाए सर्वोच्चबाट सफाइ

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित सबैले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं । नेपाली फुटबल इतिहासमै पहिलो पटक म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक प्रशिक्षक, एक फिजियोथेरापिस्ट, तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका छन्।  न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। 

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो। 

फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ४ फुटबलरलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो । 

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।

सफाइ पाएपछि सागर थापाले ६ वर्षे खेल जीवन खेर गएकाे बताएका छन् । उनी भन्छन्– ‘नगरेको अपराधबाट सफाइ पाउँछौँ भन्ने त थाहा थियो। तर यो गम्भीर दाग लगाएर हामीलाई खेलबाट यत्रो वर्ष बाहिर राखिदिएका छन्। मेरो ६ वर्ष कसले फिर्ता गर्छ ?’