पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षकाे बजेट मार्फत कृषकहरुलाई निकै प्राेत्साहित पार्ने याेजना ल्याएकाे छ ।
गण्डकी प्रदेशसभाको साेमबारकाे बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार बजेट सार्वजनिक गरेका थिए । जुन चालू आर्थिक वर्षको भन्दा रु २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो ।
मन्त्री गुरुङले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका बीच बजेट ल्याइएको उल्लेख गर्दै कोरोना रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए । आगामी आर्थिक वर्षका लागि अनुत्पादक क्षेत्रको खर्च कटौती गरिएको उनकाकाे भनाइ छ ।
सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु ६० करोड ४० लाख विनियोजन गरेको उल्लेख गर्दै मन्त्री गुरुङले विनियोजित बजेट कोरोना महामारीविरुद्धको लडाईंमा खर्च गरिने बताए ।
बजेटमार्फत सबै जिल्ला अस्पतालमा आइसोलेशन वार्ड थप्ने, सघन उपचार कक्ष सञ्चालन गर्ने र अस्पतालको भौतिक पूर्वाधार विकास गर्नका लागि यो रकम खर्च हुने छ ।
स्वदेश तथा विदेशमा रोजगारी गुमाएका कोरोना प्रभावित युवालाई रोजगारी प्रदान गर्न तथा स्वरोजगार बनाउन आवश्यक सीप, पूँजी र प्रविधि उपलब्ध गराउन सरकारले रु १८ करोड ४२ लाख बजेट व्यवस्था गरेको छ ।
कोरोना लक्षित हुनेगरी सङ्घ र स्थानीय तहको साझेदारीमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत सञ्चालन हुने तालिमका लागि रु १० करोड ५० लाख र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रमार्फत सञ्चालन हुने तालिमका लागि रु नौ करोड ८९ लाख बजेट विनियोजन गरिएको छ ।
बजेटमा कृषितर्फ कोरोना लक्षित कार्यक्रम सञ्चालनका लागि १८ करोड ५० लाख र पर्यटनतर्फ दुई करोड छ लाख विनियोजन गरिएको छ भने अन्य शिर्षकमा पनि सन्ताेषजनक बजेट छुट्याइएकाे छ ।