संविधान संशाेधनलाई लिएर भारतीय कंग्रेसले भन्याे: दुई देशबीचकाे सम्बन्धका लागि दु:खद दिन, यसकाे जिम्मेवार भाजपा

संविधान संशाेधनलाई लिएर भारतीय कंग्रेसले भन्याे: दुई देशबीचकाे सम्बन्धका लागि दु:खद दिन, यसकाे जिम्मेवार भाजपा

नयाँदिल्ली । नेपालले लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ राजनीतिक नक्सा निसान छापमा राख्न संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित गरेसँगै भारतबाट प्रतिक्रिया आउन सुरु गरेकाे छ ।

भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले एक विज्ञप्ती निकाल्दै नेपालले नयाँ नक्सा सम्मिलित संविधान संशाेधन गर्नु दुई देशबीचको सम्बन्धका लागि दु:खद दिन भएको जनाएको छ । 

कंग्रेसका प्रवक्ता रणदीपसिंह सुर्जेवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र भारतको वर्षौं पुरानो द्विपक्षीय सम्बन्धका लागि यो दु:खद दिन हो ।’

यसबाहेक उसले नेपाल भारतबीचकाे प्रगाढ सम्बन्ध याे अवस्थामा आइपुग्नुमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्व पंक्ति जिम्मेवार रहेको आरोप लगाएको छ । टेलिभिजनका भ्रामक युद्धले परिपक्व राजनीतिक नेतृत्वको पूर्ति गर्न नसक्ने भन्दै उसले भनेकाे छ, ‘आफूलाई बलियो नेतृत्व दाबी गर्ने भाजपाको नेतृत्वले राष्ट्रिय हित रक्षा गर्ने मामिलामा शुर्तमुर्गको जस्तो व्यवहार देखाएको छ ।'