सरकार परिवर्तनपछि प्रदेश प्रमुखहरु पनि परिवर्तन हुनु सामान्य हो : प्रचण्ड

सरकार परिवर्तनपछि प्रदेश प्रमुखहरु पनि परिवर्तन हुनु सामान्य हो : प्रचण्ड

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई अहिले उचित लागेका कारण प्रदेश प्रमुखहरु फेरिएको बताउनुभएको छ ।आज नेपालगञ्जको बाँकेमा सञ्चारकर्मीसँग कुरागर्दै उहाँले आफूहरु उदार भएकै कारण नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई २ वर्षसम्म काम गर्न दिइएको बताउनुभयो ।

‘हाम्रो पार्टी अलि उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस भनेर उहाँहरुलाई २ वर्षसम्म काम गर्न दिइयो,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले फेर्न उचित लागेका कारण फेरिएको हो । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई धेरै ठूलो ठान्नुपर्ने विषय नै होइन ।’

प्रदेश प्रमुखको परिवर्तनलाई सामान्य रुपमा लिन आग्रह गर्दै प्रचण्डले संसार भर सरकार परिवर्तनसँगै प्रदेश प्रमुखहरु पनि फेरिने प्रचलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो , ’हाम्रो सरकार उदार भएर दुई वर्षसम्म काम गर्न दिएको थियो । यसलाई ठूलो ठान्नु पर्ने कुनै कारण छैन । उपेन्द्र यादवजीको असन्तुष्टिका विषयमा छलफल पनि भएको थियो । तर उहाँको पार्टीका व्यक्तिलाई हामीले बनाएका होइनौँ ।’

पार्टी भित्र प्रदेश प्रमुखका विषयमा असन्तुष्टि देखिएको प्रति नेकपा अध्यक्ष प्रचण्डले सधै हुने सामान्य विषय भएको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो काम जनताका समस्या सुन्ने र त्यसलाई सम्बोधनका लागि सिंहदरबारमा लैजाने भैरहेको जानकारी दिनुभयो ।