सरिता गिरीको संशोधन प्रस्ताव सभामुखबाटै अस्वीकृत, कार्यसूचीमै परेन

सरिता गिरीको संशोधन प्रस्ताव सभामुखबाटै अस्वीकृत, कार्यसूचीमै परेन

काठमाडौं । आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित हुँदै छ। अहिले दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ । सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो ।

यता संशोधन विधेयकमाथि समाजवादी जनता पार्टीका सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव अस्वीकृत भएको छ। संसद सचिवालय स्रोतका अनुसार सभामुखले संशोधन सूचना अस्वीकृत गरेपछि कार्यसूची प्रकाशन भएको हो। मूल विधेयकमात्र पेस हुनेगरी कार्यसूची प्रकाशन भइसकेको छ।

विधेयक मंगलबार सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि  अनुमोदन भएको थियो। विधेयक अनुमोदन भएपछि शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ताको समय थियो । जसमा गिरीको एकमात्र संशोधन दर्ता भएको छ।   

गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। दफा २ मा मूल संविधानको धारा (९२) सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था छ।

गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी हुन्।गिरीले राष्ट्रहित विपरितको संशोधन दर्ता गरेपछि सर्वत्र विरोध भएको थियो ।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।  

संविधान संशोधनका पक्षमा विपक्षी पनि एकै ठाउँमा उभिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। त्यस्तै अर्को दल समाजवादी जनतापार्टीले पनि संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ।

उक्त संशोधन स्वीकारयोग्य नभएको भन्दै सभामुखले प्रमाणित नगरेका हुन्। पूरै दफा खारेजीको माग भएको तर विकल्प समेत प्रस्तुत नभएको, स‌ंविधानको आधार सिद्धान्त विपरीत रहेको भन्दै स‌ंशोधन प्रमाणित नभएको हो।