महिला क्रिकेटमा नेपाल पराजित

महिला क्रिकेटमा नेपाल पराजित

पोखरा : १३ औ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको हो । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भएको हो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बङ्गलादेशका दुई÷दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिएकी थिइन।

श्रीलङ्काकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलङ्काकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

श्रीलङ्कासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग कास्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जीत हासिल गरेको श्रीलङ्काले यही मङ्सिर २३ गते बङ्गलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ ।